रेखाले गाइन्- बुद्धम् शरणम गच्छामी
CineBuzZ | Chadani Dixit | January 19, 2010 at 1:32 pm
कालो मिनी स्कर्ट र कालो कोटमा सजिएकी ग्ल्यामरस हिरोइन रेखा थापा मञ्चमा उत्रिइन्। एक सातादेखि घामको मुख नदेखेका विराटनगरबासी मञ्च तातिने अनुमानमा थिए। माइक समातेर उनी गाउन थालिन्। तर त्यो काठमाडौंमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नचाउने गरी गाइएको ‘झिल्के’ गीत थिएन। अनुहार र पोशाकमा झल्किएको ग्ल्यामरभन्दा ठिक विपरीत रेखाले भजन गाइन्-
सर्वस्व त्यागी जानु छ एकदिन
प्रभुलाई मैले किन चिन्न सकिनँ
भौतिकवादबाट आध्यात्मिकतातर्फ लम्केकी हुन् त उनी?
कोइराला परिवारले स्थापना गरेको विराटनगरको आदर्श माविमा आयोजित कार्यक्रममा ‘शहीद’ परिवारका बालबालिकासित फोटो खिचाउँदै उनले नागरिकन्युजसँग भनिन्,’कल्याणकारी काम तुरुन्तै गर्नुछ। जतिसक्दो छिटो गर्नुछ। जीवनको के भर छ र!’ द्वन्द्वकालमा बाबुआमा गुमाएर टुहुरा बनेका तिनै बालबालिकाहरुको अध्ययनका लागि सुनसरीमा खोलिएको शहीद स्मृति आवासीय विद्यालयको सहयोगार्थ आइतबार यो कार्यक्रम आयोजना गरिएको थियो। त्यसैमा सहभागी हुन रेखा पूर्वनिर्धारित सुटिङका सेड्युलहरुलाई स्थगित गर्दै निःशुल्क च्यारिटी कार्यक्रमका लागि विराटनगर आइपुगेकी थिइन्, मात्र चार घण्टाका लागि।
बुद्धम् शरणम् गच्छामी
धम्मम् शरणम गच्छामी
उनको भजनका बोलहरुले शान्ति खोजिरहेका थिए। भनेपछि अब नायिका रेखा गायिका पनि भएकी हो? हतारमा विराटनगर आएर हतार मै फर्कनुअघि विमानस्थलको अति विशिष्ट कक्षमा नागरिकसँग कुरा गर्दै उनले भनिन्,’हो, यो भजन मैले केही दिनअघि मात्र रेकर्ड गराएकी हुँ। सार्वजनिक रुपमा भजन गाउने संयोग भने पहिलो पटक गृहनगरमै जुर्यो।’
रेखाका स्टेज शोहरुलाई पहिले पनि हेरिसकेकी एक दर्शक भन्दै थिइन्,’यो निकै फरक र सोचेभन्दा विपरीत रह्यो। जस्तोखालको हाउभाउ र प्रस्तुति उनका स्टेज शोहरुमा हुने गर्थ्यो, त्यो यस पटक देखिएन। शायद कार्यक्रमको उदेश्य नै त्यस्तै भएकोले पनि होला।’
‘अनाथ बालबालिकाहरुको लागि केही गर्न पाउँदा मलाई निकै खुसी लागेको छ। उहाँहरुलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो,’ उनले भनिन्। विद्यालयका लागि चन्दा उठाउन गरिने कार्यक्रमहरुको श्रृंखलामा आइतबारको कार्यक्रम पहिलो थियो। कार्यक्रममा सहभागी हुन मनोज गजुरेल, जेबी टुहुरे, शम्भु राई जस्ता कलाकारहरु पनि आएका थिए। अनाथ बालबालिकाहरुको प्रस्तुतिलाई भावुक रुपमा दर्शकहरुले हेरेका देखिन्थे।
Source: Nagarik
Tags: Rekha Thapa


Tweet This
Digg This
Save to delicious
Stumble it